अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएपछि उत्पन्न समस्या वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग ठप्प भएका छन् । त्यसका कारण सयौँ श्रमिक रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै सरोकार पक्षबिच संवाद आवश्यक रहेको बताएका छन् ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री आचार्यले संघीय सरकार अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबिच सहकार्य र संवादमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया