काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र अस्वभाविक रुपमा विशेष महाधिवेशनको कुरा उठिरहेको भन्दै आपत्ति जनाएका छन् । विशेषगरी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरमै विशेष महाधिवेशन गर्ने बहस सतहमा ल्याएका छन् ।
त्यसप्रति लक्षित गर्दै वीपी चिन्तन प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका प्रवक्ता महतले विशेष महाधिवेशनलाई नै अचुक औषधिजस्तो गरी बहस गरिएकोप्रति कटाक्ष गरे । त्यस्तै पार्टीको नेतृत्व दाबी गर्दै अघि सरेका गगनलाई चुनौती दिँदै अहिलेको अवस्थामा सबै एकतावद्ध भएर अघि बढ्न सुझाव दिए ।
‘अहिले पार्टीमा विशेष महाधिवेशन मंसिरमा भन्ने बहस चलिरहेको छ । त्यो नै अचुक औषधि जस्तो छ । यत्रो राष्ट्रिय सङ्कट छ, हामीमाथि उत्रो प्रहार भएको छ । राष्ट्रलाई नै कमजोर गर्ने प्रयास भइरहेको छ । म नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छ। हामीबाट कमीकमजोरी भएका छन्, त्यसको गम्भीर छलफल र समीक्षा गरौँला,’ उनले भने ।
त्यस्तै यसअघि नै कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरको अन्तिम साता गर्नेगरी प्रस्ताव भएको छ । तर अहिलेको अवस्थामा विधानले दिएको ६ महिना लम्बाउन सक्ने रहेको भन्दै सोही अनुसार आगामी वैशाख–जेठसम्म महाधिवेशन गर्न सकिने बताए ।
‘विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन । भोलिदेखि नै केन्द्रीय समिति बैठक बस्दै छ । विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता र सुनिश्चित हुने गरी मिति तोकौँ न । यथार्थ समय कति लाग्छ । मेरो विचारमा वैशाख, जेठसम्म गर्न सकिन्छ,’ उनले भने ।
यसैगरी सामाजिक सञ्जालबाट राजनीतिमा सबै खत्तम र बदमास भन्ने नकारात्मक भाष्य सिर्जना भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया