…जब शीतलनिवासको महत्वपूर्ण बैठकमा कांग्रेस–एमाले नै गएन

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान घटनाक्रममा आफू र आफ्नो दलको अहम भूमिका रहेको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

जेनजी आन्दोलनपछि नयाँ सरकार गठनका बेला भएका महत्वपूर्ण बैठकमा सहभागि भएका अध्यक्ष नेपालले त्यसबारे केही रहस्य खोलेका छन् ।

उनले केपी ओली कार्यवाहक प्रधानमन्त्री बनेको र नयाँ प्रधानमन्त्री नबनिसकेको अवस्थामा आफूहरुकै भूमिकाका आधारमा नयाँ सरकार गठन सम्भव भएको दाबी गरे ।

राष्ट्रपति भवन शीतलनिवासमा लामो बैठक चलेको तर उक्त महत्वपूर्ण बैठकमा देशका दुई ठूला र मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा एमाले उपस्थित नभएको समेत खुलासा गरे ।

‘जुन दिन के हुन्छ, के हुन्छ देशको अवस्था फेरिएर प्रतिगामीहरु फर्किएर आउने हुन् कि भन्ने चिन्ता व्याप्त थियो, विदेशीहरुको खेल मैदान मुलुक बन्ने हो कि भन्ने चिन्ता व्याप्त थियो । त्यस्तो बेलामा हामीलाई याद गरे, सम्झना गरे, बोलाए, राति ९ बजेदेखि बिहान ४ बजेसम्म हामी राष्ट्रपति भवनमा थियौँ । त्यहाँ को थिए ? राष्ट्रपतिजी हुनुहुन्थ्यो, प्रधानसेनापति थिए, म थिएँ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी थिए । कांग्रेसलाई बोलाइएको थियो, आएन । एमालेलाई बोलाइएको थियो आएन । देशका ठूला भनिएका दुई वटा शक्तिहरु छैन,’ नेपालले भने ।

नेपालले गणतन्त्र स्थापनाका बेला आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नै प्रशंसा गरे । त्यतिमात्र नभइ अहिलेको अवस्थामा पनि आफ्नो भूमिका महत्वपूर्ण रहेको र त्यसको प्रशंसा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले समेत गरेको दाबी गरे । आफ्नै कारण राष्ट्रपति सही निर्णय लिन सकेको समेत उनको दाबी रहेको छ ।

‘यसपटकको भूमिका पनि स्वंम राष्ट्रपतिज्यूले स्वीकार गर्नुभएको छ, तपाईँको पार्टी र तपाईँको पार्टीको नेताले भूमिका खेलेको हुनाले मेरो मनोबल बुलन्द भयो । प्रतिकुलतालाई चिर्ने आँट र शाहस आयो ममा, त्यसो हुनाले मैले धेरै लामो व्याख्या गरिरहनु जरुरी छैन,’ उनले भने ।

अध्यक्ष नेपालले जेनजी आन्दोलनपछि नयाँ सरकार गठन गर्ने बेला राष्ट्रपतिले बढो मुस्किलका साथ संविधान र संसदीय व्यवस्था जोगाएको भन्दै प्रशंसा गरे । आफूहरुले त्यसबेला गणतन्त्र, संविधान र संसद जोगिनुपर्छ भन्ने अडान राखेको तर संसद जोगाउन नसके पनि अन्य धेरै कुराहरु जोगाउन सफल भएको दाबी गरे । आफूहरुले नै समर्थन जनाएर वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई सरकारको नेतृत्व गर्ने अवस्थामा पुर्‍याएको दाबी गरे ।

‘त्यो बेलामा हामीले राखेका थियौँ, गणतन्त्र बचाउनुपर्छ, राष्ट्रपति संस्थाको मानमर्यादा सम्मान राख्नुपर्छ र त्यो कुरालाई सबैले स्वीकार गरे । अर्को थियो वार्ता टोली, अहिलेका प्रधानमन्त्री सुशीला कार्की त्यही राष्ट्रपति भवनमा हुनुहुन्थ्यो । जेनजीका प्रतिनिधिका रुपमा अर्का एकजना व्यक्ति हुनुहुन्थ्यो । जेनजीका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गर्नुभयो । हाम्रो कुरा उहाँहरुसँग उहाँहरुको कुरा हामीसँग आदानप्रदान भइरहेको थियो,’ उनले भने, ‘त्यसबिचमा संसद के गर्ने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा कुरा अड्कियो । हामीले अहिले प्रधानमन्त्री बन्नुभएको सुशीला कार्कीप्रति समर्थन जनाऔँ ।’

वर्तमान घटनाक्रममा आफ्नो दलले भूमिका खेलेको भन्दै आफ्नो पार्टीको औचित्य राष्ट्रिय राजनीतिमा रहेको अध्यक्ष नेपालको दाबी रहेको छ । उनले अहिले पनि जेनजीका प्रतिनिधिहरु आफूहरुसँग वार्ता गर्न आइरहेको बताउँदै आफूहरुले जेनजीका मागमा स्वागत गरेको समेत बताए ।

नेपालले जेनजी आन्दोलन हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूला हात रहेको समेत आरोप लगाए ।

प्रधाननमन्त्रीका रुपमा रहेका ओलीले युवाहरुको भावना नबुझेका कारण देशमा विध्वंश सिर्जना भएको उनको दाबी रहेको छ । साथै ओलीकै दम्भका कारण यो अवस्था सिर्जना भए पनि ओलीलाई भने सत्ताबाट बाहिर निकालेको उनको तर्क छ । त्यति मात्र होइन यसअघि नै पार्टी फुटाउनु अघि नै ओलीको व्यवहारको आफूहरु भुक्तभोगी रहेको बताउँदै ओलीकै कारण नयाँ पार्टी खोल्नुपरेको बताए । साथै पार्टी फुटाएको विषयमा प्रश्न गर्नेहरुलाई विभिन्न घटनाक्रमले त्यसलाई पुष्टि गरेको बताए ।

‘जेनजी आन्दोलनका क्रममा जुन रुपमा युवा पुस्ता अगाडी सरे, त्यसले सत्ताधारी, सत्तामा बसेका अत्यन्त अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम गर्‍यो ।
उनको शासनको बारेमा धेरै लामो व्याख्या गरिरहनुपर्ने आवश्यक्ता छैन । पार्टी सञ्चालनको विषयमा हामी भुक्तभोगी पनि भएका छौँ । त्यसो हुनाले एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने तर्कको कुनै दम पनि छैन । ती सबै घटनाक्रमले एकएक गरी पुष्टि गरेको छ । र अहिले पनि हामीले ठिक गरेको थियौँ भनेर यो प्रतिवेदनमा कारण उल्लेख गरिएको छ,’ उनले भने ।

अहिले पनि उनको दल एकीकृत समाजवादीमा एमालेबाट विद्रोह गर्नुको औचित्य नरहेको भन्ने प्रश्न उठिरहेको छ । तर अध्यक्ष नेपालले भने त्यसबेला ओलीले संसद विघटन गरेर संविधान नै मास्न खोजेपछि विद्रोह गरेको र त्यसको औचित्य अहिले पुष्टि भएको दाबी गरे ।

त्यति मात्र होइन राजतन्त्र ढाल्दै गणतन्त्र ल्याउनुमा आफूहरुको अहम भूमिका रहँदा ओली भने निराशाजनक कुराहरु गरेर माहोल बिगार्ने काममा लागेको आरोप लगाए ।

‘केही मान्छेहरु राजतन्त्र ढाल्न सकिँदैन र नेपालमा गणतन्त्र ल्याउन सकिँदैन भनेर निराशावादी प्रचार गरेका थिए ।
आन्दोलन गर्ने मान्छेलाई उत्साहित होइन, बयलगाढा चढेर वासिङटन पुग्ने र राजतन्त्र ढाल्ने कुरा उस्तै उस्तै हो भनेर खिसिट्यूरी गरेका थिए । तर हामीले देखायौँ, हामी सक्छौँ भनेर,’ ओलीप्रति लक्षित गर्दै नेपालले भने ।

नेपालले अहिले पनि जेनजीहरु आफूहरुसँग सम्वाद गर्न आइरहेको दाबी गरे । जेनजीहरुले संविधान बचाउन आफूहरुले भूमिका खेलेकोप्रति प्रशंसा गरिरहेको दाबी गर्दै आफ्नो दलको औचित्य झनै बढेर गएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?