काठमाडौं । मुस्ताङको प्रसिद्ध पदयात्रा मार्ग ‘हिडन भ्याली’मा अलपत्र परेका तीन जना बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार ‘हिडन भ्याली’मा रहेका ती पर्यटकको हवाई उद्धारका लागि नेपाली सेनाले तयारी गरेको छ । तर, लगातार हिउँ परिरहेको र मौसम अत्यधिक प्रतिकूल भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको उनले जानकारी दिए । ‘पर्यटकहरूको अवस्था सामान्य रहेको छ र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेको छ,‘बस्नेतले बताए ।
म्याग्दी हुँदै मुस्ताङतर्फको धवलागिरि चक्रीय पदमार्गमा यात्रा गरिरहेका उनीहरू धवलागिरि गाउँपालिका-४ मुदीको इटाली आधार शिविर पार गरेर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातिदेखि परेको लगातार हिमपातका कारण बाटो अवरुद्ध भएपछि हिडन भ्यालीमा रोकिएका थिए ।
यसैबिच, लगातारको हिमपातका कारण मनाङको माथिल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ । सेनाका प्रवक्ता बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे क्षेत्रका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको हो ।
मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सम्पन्न गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया