काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलका १६ जना र जेनजी समूहका १४ जना गरी ३० जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष एवं दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत उपस्थित हुने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, अनुकूल वातावरण निर्माण र राजनीतिक सहमति जुटाउने विषय छलफलको एजेन्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महत, नेकपा (एमाले)बाट केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने छन् ।
सरकारले घोषित मितिमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सरोकारवाला पक्षहरूसँग चरणबद्ध छलफल अघि बढाएको हो । यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको पहलमा सरकार र राजनीतिक दलबिच संवाद भएको थियो भने हालै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबिच पनि भेटवार्ता सम्पन्न भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया