काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि बुधबार संवैधानिक इजलास गठन गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासमा रोल क्रमअनुसार नै न्यायाधीश राखिएका छन् ।
जसमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन् ।
यसअघि प्रधानन्यायाधीश राउतले रोलक्रमलाई बेवास्ता गर्दै ‘पिक एन्ड चुज’ का आधारमा रोस्टरमा रहेका न्यायाधीशमध्येबाट संवैधानिक इजलास गठन गरेका थिए ।
संवैधानिक इजलास गठनका लागि न्यायपरिषदले प्रधानन्यायाधीश र त्यसपछि उपलब्ध १० जना न्यायाधीशको नाम सर्वोच्चमा पठाउने गरेको थियो ।
संवैधानिक इजलास गठनमा आफूअनुकूलका न्यायाधीश राखी आदेश वा फैसला गर्न खोजेको भन्दै यसअघि विरोधसमेत भएको थियो । अहिले भने संसद् विघटनजस्तो गम्भीर मुद्दामा प्रधानन्यायाधीश राउतले रोलक्रममै रहेका न्यायाधीशलाई राखेर इजलास गठन गरेका हुन् ।
सर्वोच्च अदालतले आज बुधबारदेखि नै ती रिटमा सुनुवाइ सुरु गर्न लागेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध १६ वटा रिट परेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सुशीला कार्की नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया