स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार गर्न अफिनको माग

लोकपथ
63
Shares

काठमाडौं । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारण ज्ञान, सीप र अनुभवका आधारमा हुनुपर्ने माग गरेको छ ।

अफिनले कार्तिक ११ गते एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको पारिश्रमिकलगायत ७ बुँदे माग सार्वजनिक गरेको हो । विज्ञप्तिमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति लिन, निजी अस्पताल र शिक्षण संस्थासम्बन्धी निर्देशिकामा संशोधन गर्न तथा अफिनको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । साथै, समन्वयका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै कक्ष स्थापना गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी, विपन्न र असहाय बिरामी पहिचानका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने र सक्षम निजी अस्पतालहरूलाई स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालनका अवसर दिनुपर्ने अफिनले उल्लेख गरेको छ ।

अफिनका अनुसार निजी स्वास्थ्य क्षेत्रबाट करिब ४०१ अस्पतालमार्फत २० हजार शैय्यामा सेवा प्रदान हुँदै आएको छ । यस क्षेत्रले करिब एक लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको र मुलुकको कुल जनसंख्याको करिब ६५ प्रतिशतलाई आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले पारिश्रमिकका विषयमा केही मेडिकल कलेजहरूमा आन्दोलन गरेका घटनाप्रति चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?