दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

लोकपथ
147
Shares

काठमाडौं । कात्तिकको पहिलो १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ आन्तरिक र ३ हजार ७३२ विदेशी गरी कुल ४० हजार ८७८ पर्यटक मुस्ताङ प्रवेश गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन्, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार।

कात्तिक १० गते मात्रै म्याग्दी हुँदै ४ हजार ५९८ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। तीमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनेको छ।
सोमबार रातिदेखि परेको वर्षा र बाक्लो हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडकखण्ड तथा मन्दिरसम्मको पैदलमार्गमा आवागमन कठिन भएको मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए।

भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा चिसो अत्यधिक बढेको छ। स्नानकुण्ड र १०८ धारा जमेकाले भक्तजनका धार्मिक गतिविधि प्रभावित भएका छन्।

यस वर्ष साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेका पर्यटकको संख्या १ लाख ५९ हजार ४६७ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?