काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुद्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।
हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । उनका अनुसार, चक्रवातले समुद्री क्षेत्रबाट ठुलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
‘यो प्रणालीले विशेष गरी कोशी र मधेस प्रदेशमा ठुलो वर्षा ल्याउने देखिएको छ भने बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिनसक्छ,‘पराजुलीले बताए।
उनका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव कात्तिक १३ गते (बिहीबार) दिउँसोदेखि १५ गते (शनिबार) दिउँसोसम्म रहने अनुमान छ । सो अवधिमा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने उनले बताए ।
पराजुलीका अनुसार, हाल ठुला नदीहरूको बहाव सामान्य अवस्थामा भए पनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। ‘बागमती र कोशीजस्ता ठुला नदीमा ठुला बाढी आउने जोखिम कम भए पनि सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सचेत रहनुपर्छ, ‘उनले आग्रह गरे ।
साथै, मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र हुँदै बग्ने स–साना खोला–नालामा तीव्र बहाव र आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन पनि उनले आग्रह गरे ।
त्यसैगरी, जल तथा मौसम विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार मंगलबारदेखि नै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । उनले भने, ‘हिमपातका कारण पर्वतारोहण र दैनिक जनजीवनमा पनि असर पर्ने अनुमान छ ।’
उनका अनुसार, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण मंगलबार देशभर बदली देखिएको हो । यो अवस्था बुधवारसम्म सुधार हुँदै जाने तर बिहीवारदेखि चक्रवात ‘मोन्था’ सक्रिय भएसँगै फेरि देशको मौसम प्रभावित हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया