‘बालेन गृहमन्त्री हटाउन लागेका छन्, प्रधानमन्त्री पनि फेरिन सक्छ’

लोकपथ
1.6k
Shares

काठमाडौं । अभियन्ता ईःई ले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको खुलासा गरेका छन् ।

लामो समयदेखि सुशासनका पक्षमा आवाज उठाइरहेका अभियन्ता ईःईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ गृहमन्त्री हटाउने चलखेलमा लागेको आरोप लगाए ।

सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ईःईले बालेनको आलोचना समेत गरेका छन् । उनले भदौ २४ गतेको जेनजी आन्दोलनपछि बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारिएको तर उनले अन्तिम अवस्थामा खुट्टा कमाएको टिप्पणी गरे । त्यसपछि रास्वपा सभापति रवि लामिछानेदेखि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अघि सारिए पनि सम्भव नभएपछि सुशीला कार्कीलाई सर्वस्वीकार्य बनाइएको उनले बताए ।

‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो। शुरुमा तयार भएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रबि थिए तर विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ। यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए,’ उनले भनेका छन् ।

जेनजी आन्दोलनपछिको रिक्तताको अवस्थामा सुशीला कार्कीलाई नै अघि बढाउनुपर्छ भन्दै अडान राख्ने ओमप्रकाश अर्याल सल्लाहकारको भूमिकामा बस्न चाहे पनि अन्तिममा प्रधानमन्त्रीको जोडबलमा गृहमन्त्री बनाइएको उनको दाबी छ ।

यता बालेन र उनको टिमले महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउने लबिइङ पहिले भएको र अहिले पनि भइरहेको बताए । वर्तमान गृहमन्त्री अर्याल विवादरहित व्यक्ति नभए पनि उनलाई मात्र होइन प्रधानमन्त्री कार्कीलाई नै हटाउने खेल सुरु हुनसक्ने संसय समेत व्यक्त गरेका छन् ।

‘सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्।अहिलेपनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो बिडम्बना! कस्तो निर्लज्जता !,’ उनले भनेका छन् ।

देश थप संकटमा जाने भन्दै बेलैमा सबै पक्षले त्यसतर्फ ख्याल गर्नुपर्ने अभियन्ता ईःईः को सुझाव रहेको छ । साथै भदौ २३ र २४ गतेको आन्दोलनका दोषीहरुलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?