काठमाडौं । गायक तथा संगीतकार बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप पाँच दिनको समय दिइएको छ । उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।
गिरी अहिले गायिका नितु पौडेलको मृत्यु प्रकरणमा काठमाडौं प्रहरीको हिरासतमा छन् । गिरीको अनामनगरस्थित कार्यालयमा गत कात्तिक १ गते पेट्रोल छर्केर घाइते भएकी नितुको एक सातापछि उपचारका क्रममा मृत्यु भएको थियो । त्यसलगत्तै नितुका आफन्तको उजुरीका आधारमा गिरीलाई प्रहरी हिरासतमा राखिएको हो । उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको छ ।
बाबुल र नितु लामो समय प्रेम सम्बन्धमा थिए । प्रहरीसितको प्रारम्भिक बयानमा गिरीले नितुसितको प्रेम सम्बन्ध स्वीकार गर्नुका साथै आफ्नो बुवाको मृत्युका कारण विवाह हुन नसकेको बताएका छन् ।
‘प्रेम सम्बन्ध थियो नै । तर, खटपट भएर विवाह नगर्ने भन्ने कुरा साँचो होइन । मेरो बुवाको मृत्युका कारण विवाह हुन नसकेको हो । मैले आत्महत्या गर्न बाध्य पारेको होइन,’ बयानका क्रममा उनले भनेको प्रहरी स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया