‘अमेरिका टूर’ बारे आयोजकसँग एलिनाको असन्तुष्टि– ‘नोकरझै व्यवहार गरियो’

लोकपथ
2.5k
Shares

काठमाडौं । ‘अमेरिका टूर’ बाट फर्किएपछि गायिका एलिना चौहानले आयोजकको व्यवहारप्रति गुनासो गरेकी छन् ।

‘अब सुन्छ अमेरिका’ का लागि गायिका एलिनासहित गायकद्वय बद्री पंगेनी र प्रताप दास गत साउनको तेस्रो साता अमेरिका पुगेका थिए ।

फ्लाइ नेपा ट्राभल्सका संचालक विनोद अधिकारीले उनीहरुलाई ‘अब सुन्छ अमेरिका’ का लागि लगेका थिए ।

त्यसबिचमा एलिना, प्रताप दास र बद्री पंगेनीसहित आयोजक अधिकारीले समेत सामाजिक सञ्जालमा कार्यक्रमका भिडियोहरु निरन्तर पोस्ट गरिरहेका थिए । तर नेपाल आउनेबित्तिकै गायिका एलिनाले भने आफूहरुमाथि नोकरको झैँ व्यवहार गरिएको आरोप लगाइन् ।

एलिनाले प्रतापसँगको तस्बिर राख्दै कलाकारहरुलाई सम्मान नभइ नोकरझैँ व्यवहार गरिएको र अपमान सहनुपरेको बताइन् ।

‘जस्तो छ, त्यस्तै भन्छु– यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो,’ एलिनाले सामाजिक सञ्जालमा भनेकी छन् ।

आयोजक भनेको कलाकारहरुको संरक्षक रहेको तर मालिकको जस्तो व्यवहार गरेको उनको आरोप छ ।
कलाकारले धन भन्दा इज्जत, व्यवहार र कदर खोज्ने तर आयोजकले त्यसो नगरेको उनले बताइन् ।

‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्,’ उनले भनेकी छन् ।

त्यसो त यसअघि अन्य कलाकारहरु समेत अधिकारीकै आयोजनामा हुने कार्यक्रमहरुमा सहभागि हुन अमेरिका पुगेका थिए । तर केही समय अघि अधिकारीले नै ‘अब गाउँछ अमेरिका’ अमेरिकाका लागि लोकगायिका कला लम्साल लगायत कलाकारहरुलाई अमेरिका लगेका थिए ।

तर लम्साल भने बिचमै नेपाल फर्किएकी थिइन् । उनले आफू बिरामी भएको र आयोजकले आफ्नो ख्याल नगरेको भन्दै नेपाल फर्किएपछि अधिकारी विवादमा तानिएका थिए । यता एलिनाले भने सो समयमा लम्साल आफ्नो पूरानो रोग बल्झिएर नेपाल फर्किएको तर आयोजकलाई भ्रम छरेर विवादमा ल्याउन लागिएको भन्दै अधिकारीको बचाउ गरेकी थिइन् ।

यो हेर्नुहोस् :

यता आयोजक विनोद अधिकारीले भने उक्त कार्यक्रम सफलतापूर्वक समापन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै चुनौतीका रुपमा रहेको उक्त कार्यक्रम अवसरका रुपमा बदलिएको भन्दै आगामी दिनमा नेपाल र नेपालीहरुलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले जोडिने प्रण गरेका छन् ।

‘एक चुनौतिका रुपमा स्वीकार गरेको यो कार्यक्रम अवसरमा बद्लिन सफल भएकोमा म हर्षविभोर छु र आगामी दिनमा यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले सदैव जोडिने छु भन्ने वाचा गर्न चाहन्छु,’ उनले भनेका छन् ।

यता एलिनासँगै सोही कार्यक्रमका लागि अमेरिका पुगेका लोकगायक बद्री पंगेनीले भने आयोजकलाई धन्यवाद दिएका छन् । उनले आयोजक विनोद अधिकारीले लेखेको स्ट्याटसमा फ्लाइ नेपा ट्राभल एण्ड टुर्सप्रति आभार व्यक्त गरे ।

‘फ्लाइ नेपा ट्राभल्स एण्ड टुर्स परिवारप्रति हार्दिक आभार,’ उनले भनेका छन् ।

यता गायक प्रताप दासले भने त्यस विषयमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?