काठमाडौं । जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मुलुकलाई राजनीतिक निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेको छ । समितिले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यो माग सार्वजनिक गरेको हो ।
समितिका प्रतिनिधि लेनिन विष्टका अनुसार, राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मिलित उच्च स्तरीय समन्वय समिति गठन गरिनेछ। उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्नेछ ।
विष्टले बताए अनुसार, यो संक्रमणकालीन सरकारको कार्यकाल अधिकतम १८ महिना हुनेछ । यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, र राष्ट्रिय नीतिको गहन पुनरावलोकन गरी मुलुकलाई निर्वाचनसम्म लैजानुपर्ने जिम्मेवारी सरकारले पूरा गर्नेछ। अन्तरिम सरकारको कार्यकाल समाप्त भएपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गरिनेछ ।
संघर्ष समितिले कांग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरूलाई पनि सो सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको छ । विष्टले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरूसँगको छलफल अघि बढाइसकेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया