ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?

लोकपथ
9k
Shares

काठमाडौं । हालसम्मकै उच्च मूल्य तोड्दै निरन्तर उकालो लाग्दै आएको सुनको भाउ पछिल्ला दिनमा भने ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको दरमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ४१ हजार ९ सयमा पुगेको सुनको मूल्य सोमबार पुनः दुई हजार रुपैयाँ घटेर दुई लाख ३९ हजार ९ सयमा झरेको थियो । आज (मंगलबार) फेरि प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेपछि सुनको मूल्य दुई लाख ३७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा ओरालो लागेको सुनको भाउ अझै केही दिन घट्ने व्यवसायीहरूको अनुमान छ ।

महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यका अनुसार सुनको भाउ उच्च बिन्दुमा पुगेकाले अब बढ्नेभन्दा पनि ओरालो लाग्ने क्रम सुरु भइसकेको छ । उनका अनुसार प्रतितोला दुई लाख ५८ हजार पुगेको सुनको मूल्यमा ठुलो गिरावट आइसकेको छ र यो क्रम निरन्तर चल्ने देखिन्छ ।

‘सुनको भाउ धेरै नै बढिसकेको थियो,’ उनले भने, ‘दुई लाख ५८ हजार भनेको धेरै नै बढी मूल्य हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । तिहारको समयमा नेपाल र भारतमा धेरै खपत भएकाले अलिकति मूल्य स्थिर रह्यो, तर चाडपर्व सकिएसँग माग घटेको छ ।’

उनले थपे, ‘अमेरिकाले चाइनासँग ट्यारिफ बढाएपछि र चाइनाले रियर अर्थ आपूर्ति नगर्दा अमेरिकामा इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पर्‍यो । त्यसपछि अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थ आपूर्तिको सम्झौता गरेपछि बजारमा केही स्थिरता आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली मुलुकहरूको भ्रमण र चिनियाँ राष्ट्रपति सँगको व्यावसायिक सम्झौताले पनि ट्रेड वार केही हल्का हुने संकेत दिएको छ । त्यसैले लगानीकर्ताहरू सुनबाट अन्य क्षेत्रमा डाइभर्ट हुन थालेका छन् ।’

बज्राचार्यका अनुसार पछिल्ला दिनमा सुनको मूल्य घटे पनि बजारमा खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय बजारमा ट्रेड वार कम हुँदै गएसँगै लगानीकर्ताहरू अन्य क्षेत्रमा केन्द्रित भएकाले सुनको किनबेच कम भएको हो ।

उनले भने, ‘पछिल्ला परिस्थितिहरू हेर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?