तनहुँमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते

लोकपथ
112
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज (मंगलबार) माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

चितवनबाट लमजुङतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ज-०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको हो ।

सो क्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ-१२८७ नम्बरको गाडीमासमेत ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका-८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।

यस्तै लमजुङको दोर्दी गाउँपालिका-४ बस्ने २० वर्षीया गंगा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका-१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका-१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएका छन् ।

दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?