काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारले आम नागरिकको विश्वास जित्नेगरी काम गर्न सुझाव दिएका छन् ।
जेनजी आन्दोलनपछि जेनजीहरुको माग बमोजिम बनेको सरकार अल्झिने कुनै छुट नभएको पूर्वमन्त्री समेत रहेका नेता केसीले बताए ।
‘वर्तमान सरकारसँग झिना–मसिना विषय वा तथाकथित जनप्रियताका प्रदर्शनमा अलमलिने फुर्सद छैन । यसको प्रमुख दायित्व भनेको सबै राजनीतिक दल र आम नागरिकको विश्वास हासिल गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिँदै तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नु र भ्रष्टाचार विरूद्ध निस्पक्ष कानुनी कारबाही प्रारम्भ गर्नु हो,’ नेता केसीले सामाजिक सञ्जालमा भनेका छन् ।
त्यस्तै उनले नेपालीहरुको विदेशी बैंकमा अवैध रुपमा रहेको भनिएको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्न समेत माग गरेका छन् ।
‘नेपालीहरुको विदेशी बैंकहरूमा अवैध रूपमा रहेको भनिएको सम्पत्तिको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने,’ सरकारलाई सुझाव दिँदै नेता केसीले भनेका छन् ।
जेनजीहरुको मुख्य उदेश्य नै भ्रष्टाचारको उन्मुलन, सुशासनको पक्षमा रहेको भन्दै यही आन्दोलनको जगमा उभिएको सरकारले भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउन समेत आग्रह गरेका छन् ।
गत भदौ २३ गतेको निर्मम हत्या र भदौ २४ गतेको राज्यका धरोहर, औधोगिक प्रतिष्ठान, निजी तथा सार्वजनिक संस्थामा भएको विध्वंशमा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन् ।
‘२३ गतेको निर्मम हत्या र २४ गते राज्यका धरोहर, औद्योगिक प्रतिष्ठान, निजी तथा सार्वजनिक संस्थामा भएको विध्वंसमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष कानूनी कारबाही गर्ने,’ उनले भनेका छन् ।
त्यति मात्र नभइ ०४७ सालदेखि राजनीति र प्रशासनिक उच्च पदमा रहेकाहरुको विषयमा उच्चस्तरीय भैरव लम्साल आयोगको प्रतिवेदनलाई सार्वजनिक गरी सोही अनुसार कारबाही गर्न समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया