काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले २ महिना ७ दिन प्रहरी संगठनको नेतृत्व गरी अवकाशमा जानै लाग्दा नयाँ प्रहरी प्रमुखका लागि रस्साकस्सी सुरु भएको छ । आगामी २६ कात्तिकमा ३० बर्से सेवा अवधि पूरा गरी प्रहरी संगठनको नेतृत्वबाट अलग हुन लागेका खापुङको छोटो कार्यकाल जेन–जी आन्दोलनका कारण जति दुःखद र असफलजस्तै हुन पुग्यो, त्यसको प्रभाव नयाँ नेतृत्व चयनमा पनि हुने निश्चतजस्तै छ ।
भदौ १९ देखि प्रहरी संगठनको नेतृत्व सम्हालेका खापुङले खादा लाउन र सगुन खान पनि राम्रोसँग नपाउँदै भदौ २३ मा जेन–जी प्रदर्शन भएको थियो । २३ र २४ गते भएको प्रदर्शनमा तीन प्रहरीसहित ७५ जनाको मृत्यु र सिंहदरबारसहित सरकारी र निजी सम्पत्तिमा भएको भौतिक क्षतिले उनीमाथि ‘असफल’ आईजीपीको ट्याग लागिरहेको बेला नयाँ आईजीपी चयनलाई चासोका साथ हेरिएको छ ।
विशेषगरी नयाँ आईजीपीका लागि चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नाम चर्चामा छ । जसमा दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह छन् ।
एआईजीको पहिलो वरीयतामा कार्की भएपनि जेन–जी आन्दोलनपछि फेरिएको राजनीतिक घटनाक्रमका कारण को प्रहरी नेतृत्वमा पुग्छ, यस भन्न सकिने अवस्था छैन । त्यसो त, १११ टोलीका कार्की, अधिकारी र केसी तथा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भई प्रहरीमा आएका शाहको टोलीबीच वरीयताको विवाद कायमै छ । शाहको टोलीले सेवा प्रवेशलाई आधार मान्दै आफूहरू सिनियर रहेको दाबी छाडेको छैन । शाहको टोली एसएसपीसम्म वरीयतामा अघि हुँदा उनीहरूलाई डीआईजी बढुवामा १११ औँ टोलीले पछि पारेको थियो । एआईजीमा पनि १११ औँ टोली शाहभन्दा एक महिनाअघि बढुवा भएको थियो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनीहरुबीच एआईजीमा पहिलो वरीयतामा बढुवा गरिएका कार्की अहिले चर्को विवादमा मुछिएका छन् । कार्की जेनजी आन्दोलन सर्वाधिक अराजक भएको भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए । उनी हाजिर भएको केही घण्टामै प्रहरीले जिम्मेवारी छाड्दा काठमाडौं उपत्यका नै धुवाँको मुस्लोमय भएको थियो । उपत्यकामा अत्यधिक आगजनी र तोडफोड हुँदा उनको मातहतका ३ प्रहरीले पनि ज्यान गुमाएका थिए ।
यति मात्रै नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकाल्ने काममा उनको प्रत्यक्ष सहभागिता रहेको दाबी गरिएको छ । उच्चस्तरीय छानबिन आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले एउटा अन्तर्वार्तामा ‘एआईजी कार्कीको निर्देशनले प्रहरीले आफ्नो जिम्मेवारी छाड्दा उपत्यकामा ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुन गएको’ टिप्पणी गरेकाले प्रहरी नेतृत्वमा पुग्ने कार्कीको सपना सपनामै सीमित हुने देखिएको छ । प्रवक्ता शर्माले एआईजी कार्कीलाई छानबिनको दायरामा ल्याइने स्पष्टसँग बोलेका छन् ।
अर्कोतर्फ, जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई डीआईजी बढुवा सिफारिसमा छुटाइएकाले पनि कार्की प्रहरी नेतृत्वमा पुग्न नसक्ने अनुमान गरिएको छ । एसएसपी अधिकारी डीआईजीको पहिलो दाबेदार थिए । एसएसपीको पहिलो वरीयतामा रहेका अधिकारीलाई छाडेर उनीपछिका ५ जनालाई दुई दिनअघि मात्रै डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।
यद्यपि, एआईजी कार्कीले इमानदार प्रहरी अधिकृतको परिचय बनाएका छन् । उनी कुनै ठूलो आर्थिक विवादमा पनि मुछिएका छैनन् । कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । काठमाडौं परिसर प्रमुख हुँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा उनैले चलाएका थिए । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।
कार्कीपछिको वरीयतामा राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह छन् । कार्की, केसी र अधिकारी २०८२ वैशाखमा एआईजीमा बढुवा हुँदा सिद्धीविक्रम शाह भने एक महिनापछि २०८२ जेठ १५ मा एकल एआईजीमा बढुवा भएका थिए ।
२०८० सालमा डा. केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा चर्चित भुटानी शरणार्थी प्रकरण बाहिरिएको थियो । २०८० वैशाख २७ मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई उनकै कार्यालयले पक्राउ गरेको थियो । उच्च राजनीतिक नेतृत्वको दबाबमा लुकाएर राखिएको शरणार्थीको फाइल अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसीले खोलेका थिए ।
डा. केसी २०८१ जेठमा डीआईजीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा सरुवा भएका उनी नेतृत्वमा रहेको टिमले पूर्वगृहमन्त्री रामबहादुर थापापुत्र प्रतीक थापालाई पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि विशेष ब्युरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि सरकार नै परिवर्तन भयो । त्यसपछि छायामा परेका डा. केसी बदलिँदो राजनीतिक घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा कार्यरत छन् ।
अहिले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको नेतृत्वमा रहेका राजन अधिकारी भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट अधिकृतको रूपमा चिनिन्छन् ।
उता, प्रहरी अतिरिक्त महानिरीक्षक बन्दा पछाडि परेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । जेनजी प्रदर्शनका क्रममा प्रधान कार्यालयस्थित कार्य विभाग प्रमुख रहेका शाहकै कारण प्रधान कार्यालय आगजनी हुनबाट जोगिएको थियो । प्रधान कार्यालय जलाउन आएका प्रदर्शनकारीलाई सम्झाइ बुझाइ फर्काएको जस शाहलाई नै जान्छ । प्रहरी महानिरीक्षक खापुङले एउटा कार्यक्रममा यसको जस शाहलाई नै जान्छ भनेका थिए ।
उता, गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईंलाई समात्न उनले मुख्य भूमिका खेलेका थिए । प्रहरी संगठनमा उनलाई मिजासिला र समन्वयकारी प्रहरी अधिकृतका रूपमा चिन्ने गरिन्छ ।
शाह आईजीपी भए उनको अवकाशपछि कार्कीसहितको टोलीको सम्भावना कायम रहनेछ । तर कार्की वा उनको ब्याचबाट आईजीपी नियुक्त गरिए शाहको टोली भने एआईजीबाटै अवकाश हुनेछ । शाह आईजीपी भएमा २०८३ पुससम्म र कार्की वा उनको ब्याचबाट भए २०८४ चैत १७ सम्म नेतृत्वमा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया