एनआरएनद्वारा ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण

लोकपथ
322
Shares

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएन)ले काठमाडौंको रामशाहपथस्थित ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरी प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त बनेको उक्त कन्ट्रोल रुमलाई पुनः निर्माण गरी मंगलबार आयोजित कार्यक्रममा एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले विपद् र कठिन समयमा मातृभूमिप्रति सहयोग पुर्‍याउनु एनआरएनको जिम्मेवारी भएको बताए । उनले कन्ट्रोल रुमलाई दीर्घकालीन सञ्चालनयोग्य बनाउने उद्देश्यले आधुनिक उपकरण र पूर्वाधारसहित पुनर्निर्माण गरिएको जानकारी दिए ।

श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा सुधार मात्र होइन, सस्टेनविलीटी र अपरेटरको सहजता समेत ध्यानमा राखिएको छ। यहाँ जडान गरिएका सबै उपकरणहरू दीर्घकालका लागि व्यवस्थापन गरिएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता विकसित सहरका स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीबाट सिक्दै नेपालमा पनि त्यस्तो प्रणाली लागू गर्नुपर्छ ।’

सोही अवसरमा एआईजी कार्कीले गैर आवासीय नेपाली संघप्रति आभार व्यक्त गर्दै उक्त सहयोगलाई मातृभूमिप्रतिको माया र दायित्वको उदाहरणका रूपमा व्याख्या गरे ।

कार्कीले भने, ‘म गैर आवासीय नेपाली संघका तर्फबाट यो पुनर्निर्माण कार्य सम्पन्न गरिदिएकोमा हृदयदेखि नै आभारी छु। देश बाहिर रहेका नेपालीहरूले मातृभूमिप्रतिको चासो र माया यस कार्यमार्फत प्रस्ट पारेका छन् ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो कन्ट्रोल रुमबाट काठमाडौं, ललितपुर र भक्तपुरका ट्राफिक व्यवस्थापनसम्बन्धी सबै काम सञ्चालित हुने गर्छ । पुनर्निर्माणपछि प्रणाली अझ आधुनिक र प्रभावकारी बनेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?