झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते

लोकपथ
154
Shares

काठमाडौं । मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोक नजिक आज बिहान भएको दुर्घटनामा बस अनियन्त्रित भई करिब १० मिटर तल सडकबाट पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्र१-०१-००१क ४२०९ नम्बरको बस दुर्घटनापछि घाइते भएका १९ जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ । अन्य छ जना यात्रु भने सकुशल रूपमा आ-आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र यातायात सञ्चालनमा अवरोध नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेलसहित झापा गाउँपालिका-३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश र २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन घाइते भएका छन् ।

त्यस्तै, रामेछाप मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ र दोलाखा तामाकोसी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते छन् ।

यसैगरी, झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका नौ वर्षीय छोरा रिदम, सोही स्थानका २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते भएका छन् ।

प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्यदेखि मध्यम छ र उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई पल्टिएको हो भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?