जनकराज पाठक
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जीवनकालमा अनेक राजनीतिक उतारचढाव आए ।
वीपी यस लोकबाट बिदा भएको पनि ४ दशक बढी भयो । तर अझै वीपीलाई सम्झाउने थुप्रै राजनीतिक तथा साहित्यिक घुम्तीहरू छन् ।
वीपी सधैँ राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्थे । देशमा राजसंस्था हुनुपर्ने र अभिभावकका रूपमा राजा रहनुपर्ने वीपीको स्पष्ट धारणा थियो । मुलुकमा बाह्य हस्तक्षेपप्रति वीपी अत्यन्तै चनाखो थिए । यही परिवेशमा निर्वासनमा बस्नुभन्दा राजासँग मिल्नु उचित ठानेर उनी स्वदेश फर्किए, पृष्ठभूमिका धेरै विषयहरू यहाँ विस्तारमा नगरौँ ।
उनी राजालाई सधैँ आफूभन्दा अगाडी राख्ने गर्दथे । त्यही सन्दर्भमा वीपीले महेन्द्रलाई लक्षित गरेर भन्ने गरेको एउटा भनाइ बहुचर्चित छ, ‘राजाको गर्दन तल, मेरो गर्दन माथि ।’
राजा कमजोर भए देश कमजोर हुन्छ भन्ने वीपीको चिन्तन थियो । उनी दलीय राजनीतिका पक्षधर थिए, तर राजालाई अभिभावकका रूपमा रहनुपर्ने उनको बुझाइ थियो । यही चिन्तनबाट उठेका वीपीले कांग्रेसलाई प्रजातान्त्रिक दलको रूपमा स्थापित गराएका थिए ।
जस्तोसुकै परिस्थितिमा पनि मूल आदर्श र सिद्धान्तबाट विचलित हुनुहुँदैन भन्नेमा उनी दृढ थिए । दुःखको कुरा, तर अहिले लोकतन्त्रको धरोहर मानिने सिँगो कांग्रेस अहिले राजसंस्थाको पक्षमा छैन ।
२०६२–०६३ को जनआन्दोलनपछि कांग्रेस वामपन्थीकरण भयो । अहिले कांग्रेसले सत्ता स्वार्थको रसमा राजा मात्र होइन, वीपीको मुल सिद्धान्त पनि बिर्सिएको छ । फलस्वरूप आज कांग्रेस घर न घाटको भएको छ । कांग्रेसलाई आफ्नो बिरासत जोगाउन अब हम्मेहम्मे परेको छ ।
दलहरूको सहमतिमा राजसंस्था पुनःस्थापना किन नगर्ने ? मुलतः यो राप्रपाको मुख्य चिन्तन र एजेण्डा भए पनि यसको निम्ति कांग्रेसले नेतृत्व लिएर राप्रपासहित बृहत् छलफलको सुरुवात गरेर अगाडि बढोस् । आजको विषय गणतन्त्र वा संविधान होइन ।
वामपन्थीकरणसँगै सिद्धान्त च्युत भई केवल सत्ता र पैसा मात्रै देख्ने कांग्रेस हालैको जेनजी आन्दोलनपछि राजनीतिक बजारमा अनुहार देखाउन समेत योग्य छैन । यसर्थ, कांग्रेसले वीपीको विरासत जोगाउन सक्ने परिस्थिति देखिँदैन ।
पटक–पटक सिद्धान्तसँग सत्ता साट्ने कांग्रेस आज टिठलाग्दो अवस्थामा पुगेको छ । लामो समय प्रजातन्त्रका लागि लडेका, जेलनेल भोगेका पुराना नेता र युग सुहाउँदो युवा पुस्ताको पर्याप्त उपस्थिति हुँदाहुँदै आज कांग्रेस किन मणि हराएको नागझैं सुस्त देखिएको छ ।
अब कांग्रेस सचेत हुन जरुरी छ । प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्राप्त गरेका, सबै नेपालीले मान्ने स्वर्गीय वीपी कोइरालालाई अब कांग्रेसले मनैदेखि सम्झने समय आएको छ ।
व्यक्तिगत रूपमा आफूले राजसंस्थाको कारण धेरै दुःख पाएकी भए पनि, व्यापक नेपाली राष्ट्रिय हितका लागि उनले किन जीवनभर राजसंस्थाको पक्षमा वकालत गरे ? आजको कांग्रेसी पुस्ताले यसबारे गम्भीर चिन्तन गर्नुपर्छ । केवल सत्ता स्वार्थका लागि वामपन्थीहरूसँगको सहकार्यले आज कांग्रेस कहाँ पुगेको छ ? विचार गर्नुपर्ने हो । कांग्रेसले आज सर्वस्व गुमाइसकेको छ ।
महेन्द्र–वीपीको खास टकराव सत्ता प्राप्तिमा थिएन, केवल व्यतित्वको टकराव थियो भन्ने तपाईंँ हामी सबैलाई थाहा नै छ । अचम्मको कुरा त के छ, भने यदी वीपी महेन्द्रलाई एकैपटक व्यक्तित्वप्रतिको महत्वकांक्षा नभइदिएको भए यो मुलुक अर्कै हुनेथियो । अथवा वीपी र महेन्द्रको समय फरकफरक भइदिएको भए पनि सायद दुवैले सकेको जति योगदान दिन सक्दथे । एकै समय एकै जंगलमा दुई वटा सिंह एकैपटक राज गर्न खोज्नुले नै परिदृष्य फरक बनेको हो । तर आफैँलाई जेल हाल्ने राजाप्रति न कहिल्यै वीपीको बैरभाव रह्यो, न आफैँले जेल पुर्याएका वीपीप्रति महेन्द्रको दुरभाव रह्यो ।

खैर ! वीपी र महेन्द्रबिच त्यस्तो ‘लभ एण्ड डेट’ को सम्बन्ध किन थियो ? र अहिले त्यही वीपीको पार्टी राजसंस्थाप्रति अलि लचक भएर सोच्न सक्दैन ? विचार गर्नुपर्ने बेला आएको छ ।
यो सत्यलाई आत्मसात गर्दै प्रजातन्त्र बचाउन र मुलुकलाई निकास दिन सबै पुराना रिस–राग र कुण्ठा त्यागेर वरिष्ठ नेता गोपालमान श्रेष्ठ मात्र होइन, सिंगो कांग्रेसले नै राष्ट्रप्रमुखमा राजसंस्था रहनेगरी बृहत् छलफलको सुरुवात गर्नुपर्छ ।
राजसंस्था पुनःस्थापनाका लागि अग्रसर भए मुलुक र प्रजातन्त्र दुवै सुरक्षित रहन्छन् । मुलुक विदेशीहरूको खेलमैदान बनिसकेको कुरा कसैले नकार्न सक्दैन । देशको माया राजालाई जति अरूलाई हुँदैन भन्ने तथ्य पनि प्रमाणित भइसकेको छ ।
०६२–६३ को आन्दोलनपछि राजा हेलिकप्टर चढेर भागेका थिएनन् । केवल देशमा शान्ति स्थापना होस् र नेपालीले समृद्ध नेपाल देखुन् भन्ने चाहनाले श्रीपेच र राजदण्ड सरकारलाई नासोको रूपमा सुम्पिएर हाँसीहाँसी पत्रकार सम्मेलन गरेर दरबार छोड्ने संस्थालाई आज मुलुकमा संकट पर्दा किन अस्वीकार गर्ने ?
राष्ट्रप्रमुखको भूमिका राष्ट्रपति संस्थाले निर्वाह गर्न नसक्ने अवस्था प्रमाणित भइसकेको छ । त्यसैले दलहरूको सहमतिमा राजसंस्था पुनःस्थापना किन नगर्ने ? मुलतः यो राप्रपाको मुख्य चिन्तन र एजेण्डा भए पनि यसको निम्ति कांग्रेसले नेतृत्व लिएर राप्रपासहित बृहत् छलफलको सुरुवात गरेर अगाडि बढोस् । आजको विषय गणतन्त्र वा संविधान होइन । मुख्य प्रश्न हो देश रहने कि नरहने ? मुलुक रहे भने विभिन्न तन्त्र वा वादमा पछि फेरि छलफल गर्न सकिन्छ ।
तसर्थ, प्रथमतः राष्ट्रप्रमुखमा राजसंस्था स्थापनाका लागि कांग्रेसले नै मुख्य भूमिका निर्वाह गरोस् । आगे कांग्रेसकै मर्जी !
(लेखक पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य हुन्, यो पाठकको निजी विचार हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया