‘अपशब्द बोलेकोप्रति कुनै पश्चाताप छैन, मैले आगजनी गरेको भए कारबाही होस्’

लोकपथ
1.8k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनीपछि अपशब्द बोलेको भिडियो विवादित भएपछि निर्देशक अमनप्रताप अधिकारीले माफी मागेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन जलिरहँदा उनले अपशब्द बोल्दै भिडियो बनाएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा विवादित बनेपछि त्यसको स्पष्टीकरण दिँदै अधिकारीले माफी मागेका हुन् ।

‘अहिले तपाईँ हाम्रो फोनमा त्यो भिडियो रि आइरहेको छ । अहिले तपाईँको बुबा आमा दिदिबहिनी छोराछोरी सबैले सुन्दा अप्ठेरो लाग्छ, मैले अपशब्दहरु नै बोलेको छु,’ उनले माफी माग्दै भनेका छन्, ‘अहिले सुन्दा धेरै अप्ठेरो लागेकोमा म माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, आई डू नट रिग्रेट इट ! किनभने उहाँहरुकै आदेशमा तपाईँ हाम्रो छोराछोरी मारिएको हो ।’

अधिकारीले आफूले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओलीप्रति आक्रोशमा ती शब्दहरु बोलेको समेत बताएका छन् । ओलीसहित उनलाई साथ दिने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लक्षित ती शब्दहरु प्रहार गरे पनि आम नागरिकप्रति ती शब्दहरु नरहेको समेत बताएका छन् ।

‘मेरा छोराछोरी पनि जेनजी आन्दोलनका दिन त्यहीँ संसद भवन अघि पुगेका थिए । तपाईँका कति छोराछोरी त गोली लागेर मरे नि त ! शहीद भए नि त ! र गोली चलाउन आदेश दिने, देश चलाइरहेका र देश चलाइरहेकाहरुलाई मैले के बोलेँ त, तेरो देश सकियो भनेर बोलेँ । त्यो को माथि इंगित थियो त, जसले त्यो सरकार र देश चलाइरहेको थियो । र जसले त्यो गोली हान्ने आदेश दिएको थियो,’ उनले भनेका छन्, ‘त्यो कसले दिएको थियो त, केपी ओली ज्यूले सञ्चालन गरिरहेको पार्लियामेन्ट र देश थियो, र उहाँलाई साथ दिने देउवाजी र प्रचण्डजीप्रति मेरो आक्रोश थियो । मैले अपशब्द बोलेकै हो । त्यो गोली हान्न आदेश दिने केपी शर्मा ओली लिडेड पार्लियामेन्टविरुद्ध मैले अपशब्द बोलेँ । त्यो तपाईँ हामीप्रति इंगित होइन ।’

यता अधिकारीको उक्त भिडियो सार्वजनिक भएसँगै आगजनी र तोडफोडमा समेत उनको संलग्नता रहेको भन्दै आलोचना भइरहेको छ । तर उनले भने आफूले कुनै पनि हर्कत नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । साथै आफूले त्यस्ता किसिमका गतिविधि गरेको प्रमाण भए कारबाहीको भागदार हुन तयार रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?