काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । सोमबार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उनले सो आग्रह गरेकी हुन् ।
शिक्षण अस्पताल महाराजगन्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु झार्दै उनले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराइन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरिन् । उनले घाइते बिरामीहरूले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । त्यस क्रममा उनले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बिचमा लैजाने संकल्प लिएको समेत बताइन् ।
मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया