प्रधानमन्त्री कार्कीको आह्वान-‘आगामी निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा लिनुहोस्’

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ‘एक राष्ट्रिय अनुष्ठान’का रूपमा लिन सबै पक्षलाई आह्वान गरेकी छन् ।

सूर्य आराधनाको महान पर्व छठको अवसरमा आज जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’

उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य दायित्व रहेको उल्लेख गरेकी छन् । सन्देशमा भनिएको छ, ‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन, आफ्ना अडान वा असन्तुष्टि शान्तिपूर्ण ढंगले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।’

छठ पर्वले नेपालीबिच सामाजिक एकता, सद्भाव र भ्रातृत्वलाई सुदृढ बनाउने बताउँदै प्रधानमन्त्रीले अहिले देशमा अझ बढी एकता र सद्भावको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनारका उत्सवले सबैमा सद्भाव र खुसीयाली छाओस् ।’

प्रधानमन्त्रीको सन्देशमा सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले तराई र पहाडबिचको सांस्कृतिक तथा सामाजिक सेतुका रूपमा काम गर्दै आएको पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?