खगेन्द्र सुनार प्रहरीको सूचीमा ‘फरार अभियुक्त’, मन्त्री बनाउने चर्चाबीच प्रधानमन्त्री कार्कीको चर्काे आलोचना

लोकपथ
693
Shares

काठमाडौं । विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीको चर्को आलोचना भइरहेको छ । उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्ट्याटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् । सुनारलाई श्रम तथा रोजगार मन्त्री बनाउने प्रधानमन्त्री कार्कीको तयारी छ । यसका लागि आजै साढे २ बजे सुनारलगायत चार जनालाई मन्त्रीको शपथ दिलाउने तयारी पनि भइरहेको छ । 

मन्त्रीको सूचीमा सुनारको पनि नाम रहेपछि उनलाई मन्त्री नबनाउन प्रधानमन्त्री कार्कीमाथि एकाएक दबाब बढेको छ । सुनार दुई वटा मुद्दाका फरार अभियुक्त रहेको भन्दै उनलाई मन्त्री बनाउन नहुने मत एकाएक बढेको हो । नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) ले समेत उनी दुई वटा मुद्दाको फरार अभियुक्त भएको देखाएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाका अनुसार उनले दुई वटा अभियोगमा कैद भुक्तान गर्न बाँकी छ । सूचीमा उनको नाम अहिले पनि फरार अभियुक्तका रूपमा रहेको छ । 

उनका विरुद्ध काभ्रेपलान्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । यो मुद्दाको फर्स्यौट नभएको प्रहरी रेकर्डमा उल्लेख छ ।

यस्तै उनीमाथि जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ । अदालतले सुर्खेत प्रहरीलाई पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो ।

त्यसबेला सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो ।

यस्तै, सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ । अधिवक्ता मनीषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो । 

जाजरकोटमा मारिएका नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितण्डा मच्चाएका थिए । उनले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएका थिए । त्यसपछि अधिवक्ता गौतमले मानहानिको मुद्दा हालेकी थिइन् ।  गत वैशाख २१ मा सो मुद्दा दर्ता भएको थियो । 

यो मुद्दामा सर्वोच्च अदालतले प्रतिवादी सुनारलाई झिकाउने आदेश दिएको थियो । सोपश्चात् सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानलाई पनि गालीगलौज गरेर लेखेका थिए । सोपश्चात् अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो ।

गौतम सर्वोच्च गएपश्चात् सुनारले उनलाई गालीगलौज गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए । त्यसबेला सुनारले गौतमलाई लक्षित गर्दै ‘तँ नेपाल बारकी होस कि ठमेल बारकी’ भन्दै स्ट्याटस लेखेका थिए । गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०….फोन गरेर सोधौँ– त नेपाल बारको होस् कि ठमेल बार को ?’

उनले फेरि अर्को एउटा पोष्टमा लेखेका थिए, ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ ? दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’ 

त्यसपछि गौतम साइबर ब्युरोमा जाहेरी लिएर गएकी थिइन् । सुनारले लेखेको स्ट्याटसको स्क्रिनसट लिएर जाँदा पनि ब्युरोले मुद्दा दर्ता गरेन । बरु ‘तपाईंको घर काभ्रे रहेछ, त्यहीँको अदालतमा जानू’ भनेर पठाइदिएको गौतम बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?