छठको दोस्रो दिन आज खरना विधि : अस्ताउँदो सूर्यलाई खीर, रोटी, फलफूल र ठेकुवा चढाइँदै

लोकपथ
196
Shares

काठमाडौं । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । 

छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन् । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदी घाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।

स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ । 

खरना दिनमा व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्य देवतालाई खीर, रोटी, फलफूल र ठेकुवा लगायतका सामग्री चढाएर पूजा गर्छन् । 

त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिनका लागि तयारी सुरु गरिन्छ ।

आगामी दिन अर्थात् सन्ध्या अर्घ्य र त्यसपछिको प्रातः अर्घ्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरूको भीड बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?