वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् ।
ओन्टारियो प्रान्तले पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन समावेश भएको ‘एन्टि–ट्यारिफ’ विज्ञापन प्रसारण गरेपछि ट्रम्पले यस्तो कदम चालेका हुन् ।
उक्त विज्ञापनमा रेगनको १९८७ को सम्बोधनका अडियो–भिडियो प्रयोग गरी ‘शुल्कले हरेक अमेरिकीलाई असर गर्छ’ भन्ने भनाइ समावेश गरिएको छ । रेगन फाउन्डेशनले विज्ञापन अनुमति बिना बनाएको भन्दै आपत्ति जनाइसकेको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले विज्ञापनलाई ‘धोका’ भन्दै क्यानडामाथि आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘तथ्यको गम्भीर विकृति र विरोधी व्यवहारका कारण क्यानडाले अहिले भुक्तानी गरिरहेकाको तुलनामा १० प्रतिशत अतिरिक्त शुल्क बढाइनेछ ।’
ट्रम्पले बिहीबार क्यानडासँगको व्यापार वार्ता स्थगित गरेका थिए । त्यसपछि ओन्टारियोका प्रिमियर डग फोर्डले विज्ञापन हटाउने घोषणा गर्दै प्रधानमन्त्री मार्क कार्नीसँग छलफलपश्चात वार्ता पुनः सुरु गर्ने वातावरण बनाइने बताएका थिए । तर उनले विज्ञापन विश्व सिरिज बेसबल प्रतियोगिता र अन्य कार्यक्रमहरूमा सप्ताहान्तभर चलिरहने बताएका छन् ।
यस वर्षको विश्व सिरिजमा टोरोन्टो ब्लुजेज र लस एन्जलस डजर प्रतिस्पर्धामा छन् । सोही खेललाई लक्षित गर्दै विज्ञापन प्रसारण गरिएको थियो ।
क्यानडा जी–७ समूहको एक मात्र देश हो जसले अहिलेसम्म अमेरिकासँग नयाँ शुल्कसम्बन्धी सम्झौता गर्न सकेको छैन । अमेरिका पहिले नै क्यानडियन सामानमा ३५ प्रतिशत सामान्य शुल्क, धातुमा ५० प्रतिशत, र गाडीमा २५ प्रतिशत विशेष शुल्क तोकेको छ । अब ट्रम्पले थप १० प्रतिशत शुल्क बढाउने चेतावनी दिएका छन् ।
क्यानडाबाट निर्यात हुने करिब ७५ प्रतिशत सामान अमेरिकाकै लागि हुने गर्छ, जसमा मोटरगाडी उद्योगको ठुलो हिस्सा ओन्टारियोमा केन्द्रित छ ।
ट्रम्पले क्यानडामाथि अमेरिकी सर्वोच्च अदालतमा चलिरहेको शुल्कसम्बन्धी मुद्दामा हस्तक्षेप प्रयास गरेको आरोप पनि लगाएका छन् । सो मुद्दाले ट्रम्पको सम्पूर्ण शुल्क नीति संविधानसम्मत छ कि छैन भन्ने निर्धारण गर्नेछ ।
यसबिच, क्यानडाको व्यापार संगठन ८८‘क्यानडियन चेम्बर अफ कमर्स’८८ले ट्रम्पको निर्णयप्रति निराशा व्यक्त गर्दै समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । संगठनकी प्रमुख क्यान्डेस लाएङले भनिन्, “शुल्कले सबैभन्दा पहिले अमेरिकाकै उद्योग र उपभोक्तालाई नोक्सान गर्छ।”
ओन्टारियोका प्रिमियर डग फोर्ड र क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजोमले पनि विश्व सिरिजलाई लक्षित गर्दै ट्रम्पको नीतिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । दुवैले आफ्नो–आफ्नो टिमको जितबारे बाजी राख्दै शुल्क नीतिबारे मजाक गर्दै प्रतिक्रिया दिएका हुन् ।
यसैबिच, ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी दुवै यसै सात आसियान शिखर सम्मेलनमा सहभागी हुन मलेसिया पुगेका छन्, तर ट्रम्पले कार्नीसँग भेट्ने कुनै योजना नभएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया