मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षण : समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी

लोकपथ
1.2k
Shares

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको शनिबार निरीक्षण गरेका छन् । 

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भइसकेको अवस्थामा मन्त्री घिसिङले नयाँ संसद् भवन त्यही मितिभन्दा अघि सञ्चालनयोग्य बनाउन निर्देशन दिएका हुन् ।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद् भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले नयाँ भवनबाट राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले पुस १६ गतेभित्र सबै निर्माण कार्य सम्पन्न गर्ने योजना भए पनि हालको गतिमा त्यो सम्भव देखिन नसक्ने बताउँदै हरेक दिनको कार्यतालिका बनाएर काम गर्न निर्देशन दिए ।

मन्त्री घिसिङले दुई चरणमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै दुई दिनभित्र विस्तृत सेड्युल पेस गर्न आदेश दिए । साथै, आवश्यक स्रोत, साधन र जनशक्ति परिचालन गरी तीव्र गतिमा काम अघि बढाउन उनले निर्माण कम्पनीलाई आग्रह गरे ।

उनले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई जरिबाना तिराउने चेतावनी समेत दिए ।

यसैबिच, अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेको छ । तर, राजनीतिक दलहरूबिच यस विषयमा मतभेद देखिएको छ । नेकपा एमालेले संसद् पुनः स्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारी गरेको छ भने सरकार निर्वाचन तयारीमा जुटेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?