काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले आफ्नै सरकारले उनीहरू माथि दमन गरेको आरोप लगाउँदै तीव्र असन्तोष व्यक्त गरेका छन् ।
शनिबार अपरान्ह माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना साथीहरूको रिहाइ माग गर्दै जेनजी प्रतिनिधिहरूले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा जेनजी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण रूपमा भेला भएका व्यक्तिहरूलाई पक्राउ गर्नु सरकारको दमनकारी गतिविधि भएको बताइन् । उनले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ, यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहा नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।’
राईले जेनजी आन्दोलनबाट बनेको सरकारले पनि आन्दोलनका मागहरू सम्बोधन गर्न नसकेको गुनासो गरिन् ।
भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले पनि सरकारले उनीहरूको एकता अभियान (युनिफिकेशन क्याम्पेन) रोक्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘हामीलाई युनिफाईड हुन पनि नदिने ? यो कस्तो सरकार हो ? अब अहँ हुँदैन । हाम्रो मागहरू तत्काल पूरा हुनुपर्छ । यदि सरकारले सुन्दैन भने हामी अझ कडा कदम चाल्छौँ ।’
तामाङले जेनजी आन्दोलनले बनाएको सरकारले नै आन्दोलनकारीमाथि दमन गर्नु दुःखद रहेको उल्लेख गर्दै अब त्यसको प्रतिरोधमा उत्रनुपर्ने समय आएको बताए । उनका अनुसार आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने तयारी भइरहेको छ ।
जेनजी प्रतिनिधिहरूले पक्राउ परेकाको तत्काल रिहाइ, मागहरूको छिटो सम्बोधन र सरकारको दमनकारी नीति विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया