ट्रम्पले भने– ‘उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो’

लोकपथ
686
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । एशिया भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ट्रम्पले भने, ‘ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, त्यसैले म भन्छु, उनीहरू एक प्रकारका आणविक शक्ति हुन् ।’

ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एपीइसी (एशिया प्यासिफिक इकोनोमिक कोअपरेसन) सम्मेलनमा सहभागी हुने तयारीमा छन् ।

अमेरिकी अधिकारीहरूले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ताको सम्भावनाबारे अनौपचारिक छलफल अघि बढाइरहेको जनाएका छन् ।

ट्रम्पले पनि किमसँग फेरि भेट्ने इच्छा व्यक्त गरेका छन् । किमले पनि हालै ट्रम्पसँगका ‘सुखद सम्झनाहरू’ रहेको भन्दै, अमेरिकाले प्योङयाङलाई आणविक हतियार त्याग्न बाध्य पार्ने माग हटाए वार्ताका लागि तयार रहेको बताएका थिए ।

दक्षिण कोरियाका एकीकरण मन्त्रीले ट्रम्प र किमबीच सम्भावित भेट हुने संकेत दिएका छन्, तर अमेरिकी अधिकारीहरूले भने सो भेट अहिले औपचारिक रूपमा तय नभएको स्पष्ट पारेका छन् ।

ट्रम्प र किमबीच अन्तिम भेट सन् २०१९ मा असैन्य क्षेत्र (DMZ) मा भएको थियो । त्यस भेटमा ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । तर, आणविक हतियार त्याग र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता असफल भएको थियो । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ भएको देश घोषणा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?