नेपालमा विश्वकै ठुलो कोडिङ प्रतिस्पर्धा हुने

लोकपथ
427
Shares

काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सन ले नेपालमा विश्वकै ठुलो कोडिङ प्रतियोगिता ‘आइइइइ एक्सट्रिम १९.०’ आयोजना गर्न लागेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आइइइइ नेपाल सेक्सनले आगामी अक्टोबर २५ मा प्रतियोगिता हुने जानकारी दिएको हो । यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।

आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा.अरुणकुमार तिमल्सिनाका अनुसार यो प्रतियोगिता लगातार २४ घण्टासम्म सञ्चालन हुनेछ । सहभागी विद्यार्थीहरूले सो अवधिमा विभिन्न जटिल कोडिङ समस्या समाधान गर्नुपर्नेछ ।

डा. तिमल्सिनाले भने, ‘यो प्रतियोगितामा कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्सका विद्यार्थीहरूले आईटीसम्बन्धी समस्या समाधान गर्न प्रोग्राम तयार गर्नेछन् । यसले विद्यार्थीको सिर्जनशीलता, समस्या समाधान क्षमता र टोलीमा काम गर्ने सीपलाई वृद्धि गर्छ।’

उनका अनुसार प्रतियोगितामा प्रत्येक केही घण्टामा नयाँ समस्या आउनेछ, जसलाई सहभागीहरूले मेमोरी र प्रोसेसिङ दुवै पक्षबाट अप्टिमल कोड लेखेर समाधान गर्नुपर्नेछ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो अन्तर्राष्ट्रियकरण प्रतियोगिता पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा सञ्चालन हुने भएको छ । यसले नेपाली युवा प्रविधि प्रतिभालाई विश्वव्यापी स्तरमा आफ्नो सीप र दक्षता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?