बाँकेमा जंगली जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु

लोकपथ
189
Shares

बाँके । बाँकेमा जंगली जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–९, गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हाे ।

प्रहरीका अनुसार खत्री शुक्रबार अपराह्न २ बजे स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका थिए । आज बिहानसम्म परिवारसँग सम्पर्कमा नआएपछि खोजीका क्रममा उनको शव चिल्लेपाटामा फेला परेको हो । प्रहरी चौकी ढकेरीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले घटनाबारे जानकारी दिए । 

बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा भएको यस घटनामा निकुञ्जसँग समन्वय गर्दै शव परीक्षणको प्रक्रिया सुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार घटनास्थलको प्रकृतिबाट बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । उनले भने, ‘हामी घटनास्थलमा क्यामेरा जडान गर्नेछौँ र त्यसबाट प्रमाण प्राप्त हुनेछ ।’

स्थानीयवासी र सुरक्षा निकायको टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?