थाइल्यान्डकी पूर्व महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

लोकपथ
329
Shares

बैङ्कक । थाइल्यान्डकी पूर्व महारानी मुमा सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । उनी वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा हुन् । थाइल्यान्डको सरकारी जनसम्पर्क विभागले शनिबार यसबारे जानकारी दिएको हो ।

‘केही समयदेखि अस्पतालमा उपचार भइरहेका उनी अन्ततः अक्टोबर २४, २०२५ मा राति ९ः२१ बजे बैङ्ककको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक निधन भएको छ ।,‘विज्ञप्तिमा भनिएको छ

मुमा महारानी सिरिकित सन् १९३२ अगस्ट १२ मा जन्मिएकी हुन् । केवल १८ वर्षको उमेरमा उनले तत्कालीन राजा भूमि बोल अदुल्यादेजसँग विवाह गरेकी थिइन् । राजा भूमि बोल विश्वका सबैभन्दा लामो समय शासन गर्ने राजामध्ये एक थिए ।

उनले आफ्नो जीवनभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय क्षेत्रमा योगदान दिइन् । विशेष गरी थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणमा उनले ठुलो भूमिका खेलेकी थिइन् ।

उनकी छोरा राजा महा भाजिरालोङ्कोर्न, तीन छोरीहरू राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्न, र एक बहिनी बुस्बा कितियाकारा सथानपोङ छन् ।

थाइल्यान्ड दरबारले मुमा महारानीको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?