जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको पाँचदलीय गठबन्धनले बैठकमार्फत विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ ।
गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।
शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको पाँचदलीय बैठकपछि मुख्यमन्त्री सोनलले भने, ‘छठपछि विश्वासको मत लिनेछु। संविधानले दिएको ३० दिनभित्र नै प्रक्रिया पूरा गर्ने तयारी भइसकेको छ ।’
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई र नेकपा (एकीकृत समाजवादी) का मन्त्री कनिष पटेलले पनि छठ पर्वको लामो बिदाका कारण केही ढिलाइ भए पनि अब विश्वासको मतमा कुनै समस्या नहुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले मन्त्रिपरिषद् विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले भने, ‘हाम्रो मन्त्रालयको टुङ्गो लगभग लागेको छ, अब अन्तिम तयारी भइरहेको छ।’
हालको गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन रहेको छ । १०५ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ ।
उता, जनमत पार्टी फुटाएर स्वराज पार्टी गठन गरेका पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहविरुद्ध सर्वोच्च अदालतले विभाजनमा रोक लगाएका कारण उनीहरूलाई जनमतकै ह्विप लागू हुने भएको छ ।
यससँगै मधेश प्रदेशमा सोनल नेतृत्वको सरकार स्थायित्वतर्फ अघि बढ्ने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया