काठमाडौं । शुक्रबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । दुर्घटना स्थलमै ७ जनाको मृत्यु भएकामा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाइतेमध्ये एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेरीमा मृत्यु भएपछि मृतकको सङ्ख्या ८ पुगेको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा मृतकमा आठबिसकोट नगरपालिका ३ का वर्ष ३० कमला वली, वडा नम्बर १ की १५ वर्षीया दिलमाया बुढा, सोही वडाकै १५ वर्षीय कल्पना नेपाल, १६ वर्षीय टेकजंग बुढा, २८ वर्षीया शर्मिला बिक रहेका छन् ।
त्यसै गरी आठबिसकोट नगरपालिका २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला बिक र २२ वर्षीय गोपाल वलीको समेत दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनाका जिपका चालक मुसिकोट नगरपालिका २ का ३४ वर्षीय टोपजंग बुढा, १५ वर्षीया सपना नेपाल, १५ वर्षीया सबिता बिक, १७ वर्षीया सिर्जना बुढा, १७ वर्षीया संगिता बुढा, १७ वर्षीया अञ्जना ऐरी, १७ वर्षीया मनिषा थापा, १८ वर्षीया जुना बुढा, १९ वर्षीया शान्ति बुढा र २० वर्षीया महिमा ओली घाइते भएका छन् ।
घाइतेमध्ये जुना बुढाको अवस्था गम्भीर रहेको कारण थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमानामा पर्ने झारमारे लिस्नेमा जिप दुर्घटना भएको थियो । रा१ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । जिपको क्षमताभन्दा बढी यात्रु बोकेर गएको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया