भक्तपुरमा किसान धानबाली भित्र्याउन व्यस्त, मल-बिउ अभावको गुनासो

लोकपथ
182
Shares

काठमाडौं । तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् । शुक्रबार दिउँसो भक्तपुरस्थित ठिमी बोडेका खेतबारीमा किसानहरू धान काट्न व्यस्त देखिन्थे । उनीहरूले अहिलेको मुख्य काम धानबाली भित्र्याउने भएको बताउँदै खेतीका लागि आवश्यक सामग्री अभावमा गुनासो गरेका छन् ।

ठिमीकी किसान सुनिता कोजुले सरकारले किसानका लागि मल र बिउ सहज ढंगले उपलब्ध गराउन नसकेको बताइन् । उनले भनिन्, ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुपर्‍यो । मल, विउको समयमै व्यवस्था हुनुपर्‍यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’

त्यस्तै, बोडेका किसान रामसुन्दर माखुले पनि मल अभावका कारण धान उत्पादनमा समस्या आएको बताए । उनका अनुसार भक्तपुरमा धानबाली राम्रो भए पनि आवश्यक मल र उन्नत बीउ समयमै नपाउँदा सोचेजस्तो उत्पादन गर्न नसकिने अवस्था आएको छ ।

माखुले भने, ‘यो दशैं अगाडि नै धान काट्ने काम सुरु हुन्छ । त्यससँगै आलु रोप्ने तयारी पनि हुन्छ । धानबालीको हेरचाह हामी आफैं गर्छौं, तर मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’

भक्तपुरमा जेठको अन्त्यतिर धान रोप्ने काम सुरु हुने र असोजको अन्त्यदेखि बाली भित्र्याउन थालिने किसानहरू बताउँछन् । स्थानीय किसान माखुको भनाइअनुसार, उन्नत बीउबिजनको पनि अभाव भएकाले उत्पादनमा अपेक्षित सुधार हुन नसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?