काठमाडौं । अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजनका लागि पुनः अनुबन्ध गरेको जनाएको छ ।
एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलिसकेका मिलान्थाले यसअघि पनि नेपालमा खेलिसकेका छन् । उनी हाल अमेरिकामा नै क्रिकेट खेल्दै आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले तीन वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यो प्रतियोगितामा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थान हासिल गरेका थिए । उनले फाइनल खेलमा ४१ रन बनाएर लुम्बिनी अल स्टारलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठका अनुसार मिलान्थालाई अनुबन्ध गर्नु टिमका लागि रणनीतिक निर्णय हो । उनले भने,
‘लाहिरू मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । उनीसँग नेपालमा खेलेको अनुभव छ, जसले स्थानीय अवस्था र प्रशंसकको अपेक्षाबारे राम्रो बुझाइ दिन्छ । हामीलाई विश्वास छ, उनले आफ्नो अनुभव र खेल कौशल प्रयोग गरेर एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’
जनकपुर बोल्ट्समा यस सिजनका लागि आसिफ शेख मार्की खेलाडी रहेका छन् भने टिमका मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया