तीव्र गतिमा बढ्दै डिजिटल कारोबार गर्नेको संख्या

लोकपथ
350
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय नगदरहित कारोबारको दायरा तीव्र गतिमा फैलिँदै गएको छ । दैनिक किनमेलदेखि ठुला रकमको आर्थिक कारोबारसम्म अहिले डिजिटल माध्यमबाट गर्न सहज भएको छ । अधिकांश नेपालीहरू अहिले स्मार्टफोनमार्फत डिजिटल भुक्तानी गर्न अभ्यस्त बन्दै गएका छन् ।

चालू आर्थिक वर्षको भदौ महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख ४० हजार नाघेका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिमा दुई करोड ५२ लाख सात हजार १२२ मात्र थियो । एक वर्षमै करिब ३० लाखभन्दा बढी नयाँ प्रयोगकर्ता थपिएका हुन् ।

त्यस्तै, डिजिटल वालेट प्रयोगकर्ता पनि उल्लेख्य रूपमा बढेका छन् । २०८१ को भदौदेखि २०८२ को भदौसम्मको एक वर्षमा ४ लाख २० हजार नयाँ वालेट प्रयोगकर्ता थपिँदै कुल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ ।

डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि उच्च रहेको छ । राष्ट्र बैंकका अनुसार हालसम्म एक करोड ३७ लाख ६३ हजारले डेबिट कार्ड प्रयोग गर्छन् । यसका साथै, क्रेडिट कार्ड प्रयोगकर्ता ३ लाख २१ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता २ लाख ५७ हजार पुगेका छन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता २२ लाख ७८ हजार पुगेका छन् भने देशभर ४ लाख ३९ हजार पीएसपी एजेन्टहरू सक्रिय छन् ।

त्यस्तै, कनेक्ट आईपीएस प्रयोगकर्तामा पनि वृद्धि भएको छ । २०८१ भदौ मसान्तसम्म १३ लाख १५ हजार रहेका प्रयोगकर्ता २०८२ भदौसम्म आइपुग्दा १४ लाख ७२ हजार पुगेका छन् ।

विशेषज्ञहरूका अनुसार यो वृद्धि नेपालमा डिजिटल अर्थतन्त्रको विस्तारतर्फको सकारात्मक संकेत हो । सरकारले प्रवर्द्धन गरिरहेका डिजिटल नेपाल फ्रेमवर्क तथा विभिन्न वित्तीय संस्थाका डिजिटल सेवा अभियान ले पनि यस प्रवृत्तिलाई तीव्र गति दिएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?