मैथिल समुदायमा छठ पर्वको तयारी सुरु

लोकपथ
77
Shares

काठमाडौं । मैथिल समुदायको प्रमुख पर्व छठको तयारी जनकपुरधाम लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रमा हर्षोल्लासपूर्वक सुरु भएको छ । अन्नकुट, गोधन तथा भ्रातृद्वितिया पर्व सम्पन्न भएपछि पारिवारिक सुख, समृद्धि र दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारीमा स्थानीय बासिन्दा व्यस्त भएका छन् ।

छठ पर्वका अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका ऐतिहासिक पोखरीहरूको सरसफाइ र सजावटको कार्य तीव्र रूपमा भइरहेको छ । ती पोखरीहरूलाई नवदुलहीझैँ आकर्षक रूपमा सजाइँदैछ । जनकपुरधाममा मात्र करिब ११ हजारभन्दा बढी श्रद्धालुहरूले यस वर्ष छठ पूजा गर्ने अनुमान गरिएको छ ।

पर्व नजिकिँदै जाँदा बजारमा पूजा सामग्री किन्ने भक्तजनको चहलपहल पनि बढेको छ । छठ पर्वमा प्रयोग हुने ठकुवा, थेकुआ, फलफूल, नरिवल, नयाँ माटाका भाँडा, बाँसका डोका, सुपा, डाली लगायत सामग्री खरिद गर्नका लागि बजारमा भीड देखिन थालेको छ ।

आदिदेव सूर्य भगवानलाई अघ्र्य दिने परम्परा अनुसार मिथिलाञ्चलका नदी, तलाउ, पोखरी र इनारको किनारमा घाट निर्माण र सजावटको काम भइरहेको छ । जनकपुरधामसँगै तराई–मधेसका गाउँ–गाउँमा पनि सरसफाइ र सजावटको तयारी एकैसाथ चलिरहेको छ ।

स्थानीय प्रशासन र धार्मिक संघसंस्थाले छठ पर्वका अवसरमा सुरक्षा व्यवस्थासँगै सरसफाइ र सुविधाको व्यवस्था मिलाउने तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?