काठमाडौं । चिनको शानडोंगमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव कसेर नेपाली टोली फर्किएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा रहेको तीन सदस्यीय नेपाली टोली चीनको शानडोंग प्रान्तमा सम्पन्न ‘अवसर चीन, ऊर्जाशील शानडोंग’ अन्तर्राष्ट्रिय फोटो महोत्सवमा सहभागी भई नेपाल फर्किएको हो ।

गत अक्टोबर १५ देखि २१ सम्म आयोजना भएको उक्त महोत्सवमा नेपालबाट तीन सदस्यीय टोली सहभागी भएको थियो । कार्यक्रममा विभिन्न एसियाली देशका एक सय भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरूले सहभागिता जनाएका थिए ।

महोत्सव शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो । यसलाई शानडोंग रेडियो तथा टेलिभिजन स्टेसन, शानडोंग अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानडोंग कला तथा डिजाइन विश्वविद्यालय र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनले सहयोग गरेका थिए ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई तीन समूहमा विभाजन गरी शानडोंग प्रान्तका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको भ्रमण गराइएको थियो । पहिलो समूहमा नेपाल, जापान, भियतनाम र चीनका फोटोग्राफरहरू रहेका थिए भने अन्य समूहहरूमा मलेसिया, कोरिया, ताइवान, म्यानमार, थाइल्यान्ड, रसिया, फिजी लगायतका देशका फोटोग्राफरहरू सहभागी थिए ।

नेपाली टोलीले पहिलो र दोस्रो दिन डेझाउ सिटीमा भ्रमण गरी कालो माटोको संग्रहालय, सियाजिन प्राचीन सडक, मुलवेरी फलको अनुसन्धान वगैचा तथा उद्योग, चाइना डि. फिल्म सिटी, एल्लो रिभरमा बनाइएको सिँचाइ ड्याम, प्राचीन बगैँचा, एक्रोवेटिक क्रिकेट भ्याली, लोलिङ फिल्म एन्ड टेलिभिजन सिटी, जुनुविज म्युजियम लगायतका स्थलहरूको फोटो अवलोकन गरेको थियो । सहभागीहरूले शानडोंगको प्रकृति, संस्कृति र विकासका विविध पक्ष आफ्ना क्यामेरामा कैद गरेका थिए ।
यसैबिच कार्यक्रम सहभागिता सम्बन्धमा एनएफपिजे अध्यक्ष प्रदीपराज वन्तले भने, ‘यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध, पर्यटन प्रवर्द्धन र कलात्मक सहकार्यलाई मजबुत बनाउन मद्दत पुग्ने विश्वास छ ।’
उनले अगाडि भने, ‘यस्ता महोत्सवमा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साथै अन्य देशका फोटो पत्रकारहरूसँगको मित्रता विकास हुने अवसर पनि प्रदान गर्छ ।’
महोत्सवको पहिलो दिन अध्यक्ष वन्तले खिचेका केही तस्बिरहरू यस्ता छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया