मोरङ । कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सन् २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ का रूपमा मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकका गरी १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षले पहिलो छ महिनामा सकारात्मक परिणाम देखाएको छ ।
भारतको बिहारका कमलेश शर्मा परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन् । इलामको कन्याममा भेटिएका शर्माले भने, ‘यसअघि साथीहरूसँग नेपाल आएको थिएँ, तर यो पटक परिवारसँग आएको छु । अघिल्ला वर्षभन्दा यस पटक यात्रा सहज र रमाइलो भएको छ ।’ उनका अनुसार सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको र भारतीय पर्यटक नेपाल घुम्न आकर्षित भइरहेका छन् ।
पर्यटन वर्षको सुरुआती तीन महिनामा (वैशाख, जेठ र असार) प्रचार–प्रसारका गतिविधि सक्रिय देखिए पनि पछिल्ला तीन महिनामा त्यो क्रम केही सुस्त देखिएको छ । कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविष श्रेष्ठका अनुसार कोसीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित प्रदेश सरकारले सरकारी तथा निजी क्षेत्रको साझेदारीमा अभियान अघि बढाइरहेको छ ।
श्रेष्ठका अनुसार प्रदेशका धार्मिक, प्राकृतिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य र खेलकुद गन्तव्यमा समेत पर्यटकको आकर्षण बढ्दै गएको छ । कोरोना महामारीपछि सुस्तिएको पर्यटन क्षेत्रलाई पुनः गति दिन कोशी प्रदेश सरकारले पर्यटन वर्षको घोषणा गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन, ऊर्जा, जलविद्युत् र जडीबुटी क्षेत्रलाई प्रदेशको आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउने बताएका छन् । कोशी प्रदेशमा हाल करिब पाँच सय होटल सञ्चालनमा छन्, जसमा डेढ सय होटल एक स्टारदेखि पाँच स्टार स्तरका छन् । यी होटेलमा दैनिक तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको सह–संयोजक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढी पहिरोले पर्यटन क्षेत्रमा असर पारेको भए पनि छठ पर्वपछि प्रचार–प्रसार अभियानलाई थप तीव्रता दिइनेछ ।
भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताले समृद्ध कोशी प्रदेशमा ८८४८ मिटर उचाइको सगरमाथादेखि ७० मिटर उचाइको नेपालकै होचो भूभाग कचनकवलसम्मका क्षेत्र छन् । इलामको श्रीअन्तुडाँडामा सूर्योदय अवलोकनका लागि दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् भने कोशीटप्पु आरक्ष र वेतना सिमसार चराचुरुङ्गी तथा कछुवाका कारण पर्यटकको आकर्षण बनेका छन् ।
प्रदेश सरकारले १३ पर्यावरणीय गन्तव्य र १० ट्रेकिङ ट्रेललाई प्राथमिकतामा राखेको छ । सरकारी तथ्यांक अनुसार हरेक वर्ष सगरमाथा अवलोकन गर्न आउने पर्यटकमध्ये ४३ प्रतिशत विदेशी र ५७ प्रतिशत स्वदेशी रहेका छन् ।
धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण छन् भने इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा र पाँचथरको साधुटार लोकप्रिय पर्यटकीय गन्तव्य मानिन्छन् ।
सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायतका हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गरिरहेका छन् । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेसक्याम्पसम्मका ट्रेकिङ मार्ग साहसी र रोचक मानिन्छन् । त्यससँगै फाल्गुनन्द ट्रेल, मुन्दुम ट्रेल र सभा पोखरी ट्रेक पर्यावरणीय पर्यटनका महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया