जेनजी आन्दोलनका कारण तिहारको बजार सुनसान, व्यापारीहरू निराश

लोकपथ
637
Shares
फाइल तस्बिर

काठमाडौं । तिहारको चौथो दिन फलफूल, माला र भाईमसला किन्ने भीडभाड हुने राजधानीका बजारहरू यस वर्ष सुनसान देखिएका छन् ।

जेनजी आन्दोलनका कारण बजारमा चहलपहल घटेपछि व्यापारीहरूले व्यापारमा ठुलो असर परेको बताएका छन् ।

बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानका अनुसार यस वर्षको व्यापार गत वर्षको तुलनामा निकै कमजोर छ । उनले भने, ‘पहिले तिहारमा काठमाडौंबाट मान्छे हिड्दैनथ्यो, भीडभाड हुन्थ्यो, व्यापार राम्रै चल्थ्यो । अहिले आन्दोलनका कारण मानिस नै छैनन्, बजार सुनसान छ । हाम्रो स्थिति निकै गम्भीर छ ।’

सुनिलजस्तै अर्का व्यवसायी सोनु कुमारले पनि यस्तै गुनासो व्यक्त गरे । उनका अनुसार आन्दोलन र आर्थिक अभावका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । ‘आन्दोलनले गर्दा बिजनेस ठप्पजस्तै छ । मान्छेसँग पैसा छैन, त्यसैले बिक्री कम छ । साथै, बजार भाउ पनि पहिलेभन्दा बढेको छ,’उनले बताए ।

व्यापारीहरू व्यापार घटेको गुनासो गर्दै छन् भने उपभोक्ताहरू भने मंहगी बढेको असन्तुष्टि जनाइरहेका छन् । फलफूल किन्न आएकी उर्मिला बस्नेतले भनिन्, ‘सामान्य दिनको भन्दा अहिले धेरै महँगो छ । सयपत्री फूल पाउनै गाह्रो भएको छ । हामीले थोरै थोरै किनिरहेका छौँ, तर सबै वस्तु महँगो छ ।’

उनका अनुसार पोहोरको तुलनामा यस वर्ष बजारमा फलफूल, फूल र अन्य तिहारका सामानको अभाव छ ।

तिहारका बेला राजधानीका बजारहरूमा फलफूल, माला, भाईमसला र टोपी किन्ने ग्राहकहरूको भीड हुने गरेको भए पनि यस वर्ष जेनजी आन्दोलनका कारण बजारमा सन्नाटा छाएको छ । व्यापारी र उपभोक्ता दुवैको गुनासो एउटै छ ।’तिहारको रमाइलो र व्यापार दुबैमा नसोचेको असर परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?