निजी निवासको अवलोकन गर्दै ओलीले भने– ‘यो योजनावद्ध षड्यन्त्र हो’

लोकपथ
336
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनाइएको बालकोटस्थित आफ्नै निजी निवासको निरीक्षण गरेका छन् ।

बुधबार बिहान पत्नी राधिका शाक्यसहित उनी निवासमा पुगेका थिए । निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा भएको घटनालाई नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र भएको बताउँदै, यसअघि पनि एमालेमाथि समान किसिमको लक्ष्य रहेको दाबी गरे ।

ओलीले भने, ‘यो घटना केवल असोज २३ को मात्रै होइन, पहिलेदेखि नै एमालेमाथि लक्षित ढंगले गरिएको थियो। चैत १५ मा पनि यस्तै प्रयास गरिएको थियो, त्यो बेला सफल भएन।’

उनले आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीप्रति गम्भीर शंका व्यक्त गर्दै, पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप लगाए । साथै, उनले अन्तरिम सरकारले पनि टोडफोड र आगजनीमा संलग्नलाई कारबाही नगरी पीडितमाथि मात्रै ध्यान दिएको बताए ।

अध्यक्ष ओलीले चोरी भएको सामानको विवरण दिनुहुँदै आश्चर्य व्यक्त गर्दै भने, ‘केही टनका फलामका मुर्ति समेत चोरी भएको छ । शिव, सरस्वतीको मुर्ति चोरिएको छ । काम लाग्ने कुरा चोरेर लगे, काम नलाग्ने कुरामा आगजनी गरेर गए । केही अघिदेखि नै यहाँ लक्षित गतिविधि भइरहेका थिए ।’

उनले विद्यार्थीहरूको सकारात्मक अभियानलाई अपराधिक समूहले फाइदा उठाएको उल्लेख गर्दै, सरकार भ्रष्टाचार नियन्त्रणमा असफल रहेको र पीडितमाथि दुस्मनी व्यवहार भइरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफ्नी पत्नी शाक्यले तीन दशकभन्दा बढी बैंकमा काम गरेर आर्जन गरेको सम्पत्तीबाट निर्माण गरिएको घर राष्ट्रको नाममा दिइसकिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?