नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछु : प्रधानमन्त्री कार्की

लोकपथ
686
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस विषयमा नेपाल राष्ट्र बैंकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने योजना रहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार, नेपाल संवत् विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि यो राष्ट्रकै मौलिक संवत् हो । उनले नेपालको ऐतिहासिक र सामाजिक महत्त्व बोकेको संवतका प्रवर्तक शंखधर साख्वाःलाई सम्झँदै भनिन्,‘ उनी केवल कुशल व्यापारी मात्र नभई एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएका थिए ।’

उनका अनुसार, ११४६ वर्ष अघि राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी उनीहरूलाई ऋणको भारबाट मुक्त गर्ने ऐतिहासिक निर्णय लिए ।

 यही दिनलाई आधार मानेर विं.सं. ९३६ मा नेपाल संवतको शुभारम्भ भएको थियो। प्रधानमन्त्री कार्कीले जोड दिइन् कि नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई एक व्यापारीको त्याग र परोपकारबाट सुरु भएको संवत् भएकाले यसको महत्त्व अत्यधिक रहेको छ ।

प्रधानमन्त्री कार्कीले सरकारले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गर्दै यसको प्रवर्द्धन र व्यवहारिक लागूमा तत्परता देखाएको जानकारी दिइन् । शंखधर साख्वाःलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने नेपाल संवतलाई वि.सं. २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत् घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?