नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरूको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सरकार सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा पाटन मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा समर्पित काम गर्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग र पाटनका विभिन्न जातीय समाजको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री कार्कीले इतिहास स्मरण गर्दै भनिन्,‘ आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकको ऋणमुक्ति गरी उनीहरूलाई स्वतन्त्र बनाएका थिए । यही ऐतिहासिक घटना नेपाल संवत् सुरु हुने आधार बनेको हो ।’

कार्कीले शङ्खधर साख्वाको सामाजिक एकता, त्याग र मानवीयताको मार्गलाई सबैका लागि प्रेरणा स्रोत हुने बताउँदै नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थप्ने कामना गरिन् ।

उनले थपिन्, ‘नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा केवल व्यापारी नभई एक महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । उनको योगदानको सम्मान स्वरूप विसं ९३६ मा नेपाल संवत्को थालनी गरिएको थियो र विसं २०५६ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । २०६५ सालदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी कागजातमा उल्लेख गरिएको छ ।’

प्रधानमन्त्री कार्कीले नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक मूल्यको महत्त्वको उल्लेख गर्दै सबैलाई राष्ट्रिय हितलाई व्यक्तिगत वा दलगत हितभन्दा माथि राख्न आग्रह गरिन् ।

साथै, गत भदौ २३ र २४ गते जेन जेड समूहले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाउने तथा घाइते भएका नागरिकप्रति प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

उक्त नागरिक सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा रहेको र संविधानको अधिनमा जेन जेड आन्दोलनको सुशासनको आवाज सम्बोधन गर्न सबै तह र वर्गको सहभागिता आवश्यक हुने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि निर्वाचनमा भयरहित मताधिकार प्रयोग गर्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै सम्पूर्ण राजनीति दल, वर्ग र समूहको साथमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

यस अवसरमा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा विभिन्न जातीय समुदायले विशेष कार्यक्रम आयोजना गरी नेपाल संवत् उल्लासपूर्वक मनाएका छन् । साथै, देशभरका नेवार बसोबास भएका गाउँ, सहर र बजारमा समेत नेपाल संवत् उल्लासका साथ मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?