काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि खडा भइरहेका चुनौतीहरूको सामना गर्न सबै नेपालीलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
नेपाल संवत् ११४६ को अवसरमा बुधबार जारी शुभकामना सन्देशमार्फत उनले सांस्कृतिक विविधता र मौलिकताको संरक्षणमार्फत राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।
ओलीले भनेका छन्, ‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो ।’
उनले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्न र सद्भावको सुगन्ध फैलाउन सबैलाई आग्रह गरे । साथै, उनले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामूहिक एकता र दृढताका साथ सामना गर्नुपर्ने आवश्यकता औँल्याए ।
ओलीले नेपाल संवत् ११४६ ले नेपाली पहिचान, गौरव र सहअस्तित्वको भावनालाई अझ सुदृढ बनाओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया