काठमाडौं । जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ सनेई तकाइची दुवै सदनमा बहुमत हासिल गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भएकी छन् ।
हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेका राजनीतिक शिष्य समेत रहेकी ६४ वर्षीया तकाइचीले मंगलबार ४६५ सदस्यीय तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी हुन् । यसअघि उनले दुई पटक प्रधानमन्त्री बन्न प्रयास गरेकी थिइन् । दक्षिणपन्थी विचारधाराकी नेतृका रूपमा चिनिने उनी जापानमा ‘आयरन लेडी’ का नामले पनि परिचित छिन्।
तकाइचीको विजय एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेडआईपी) बीच अन्तिम समयमा भएको गठबन्धन सम्झौतापछि सम्भव भएको हो । यद्यपि, दुई दलको गठबन्धन हुँदा पनि संसदमा दुई सिटले बहुमत नपुग्दा राजनीतिक अस्थिरताको जोखिम कायमै रहेको विश्लेषकहरूको भनाइ छ ।
नवनिर्वाचित प्रधानमन्त्री तकाइचीले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गरेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितता यससँगै अन्त्य भएको छ ।
विशेषज्ञहरूले यस घटनालाई जापानको राजनीतिक इतिहासमा महिलाको उदयको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्। एलडीपीले पछिल्ला पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तकाइचीको प्रशंसा गर्दै भनेका छन्, ‘उनी धेरै सम्मानित र बुद्धिमान नेतृ हुन्।’
प्रधानमन्त्री बनेपछि तकाइचीले सामना गर्नुपर्ने प्रमुख चुनौतीहरूमा जापानको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने, अमेरिका–जापान सम्बन्ध सुदृढ गर्ने र सत्तारूढ दललाई एकजुट राख्ने रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया