काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनार भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइएको उनको शव काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
राति अबेर घरमा शव पुर्याइएकाले आज मंगलबार बिहान शवयात्रासहित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो ।
शवयात्रामा हजारौँ स्थानीयसहितको सहभागिता थियो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी थिए ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।
उता, जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
२०८० असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई जनही २/२ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय बमोजिम प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोग गरेको थियो । विपिनलाई पनि असोज २७ गते मृत घोषित गरिदिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया