बागमती । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार, साउनदेखि असोजसम्मको अवधिमा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ खर्च भएको हो ।
प्रदेश सरकारले चालु आवका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । तीमध्ये चालुतर्फको खर्च बढी र पुँजीगततर्फको खर्च न्यून भएको मन्त्रालयले जनाएको छ ।
विनियोजित बजेट खर्चका आधारमा प्रदेश लोकसेवा आयोग सबैभन्दा अगाडि रहेको छ। आयोगले तीन महिनामा १९ दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको छ । त्यसपछि प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत खर्च गरेको छ ।
त्यसै गरी सबैभन्दा कम खर्च गर्ने निकायमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय रहेको छ, जसले अहिलेसम्म शून्य दशमलव ८० प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
सूचना अधिकारी पौडेलका अनुसार, गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शनी’ का क्रममा प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएका कारण नियमित कामकाज प्रभावित भएको थियो। यसका साथै, विभिन्न निकायहरूले समयमै योजना कार्यान्वयन गर्न नसक्दा पनि खर्च दर कम देखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया