काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू भएको केही दिनमै गाजामा पुनः हिंसात्मक झडप बढ्दा कम्तीमा ४६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार दिनको सुरुवातमा हमासको आक्रमणमा दुई इजरायली सैनिक मारिएका छन् । सेनाका अनुसार हमासले दक्षिणी गाजाको रफाह क्षेत्रमा पूर्वाधार मर्मतका क्रममा रहेका इजरायली फौजमाथि एन्टी–ट्याङ्क मिसाइल र गोलीबारी गरेको थियो ।
गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा ४४ प्यालेस्टिनी नागरिकको ज्यान गएको पुष्टि गरेका छन्। गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसालका अनुसार उद्धार टोलीहरूले २० भन्दा बढी संकटकालीन कलहरूको जवाफ दिएका छन् ।
अमेरिकी सहयोगमा इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम सम्झौता अक्टोबर १० देखि लागू भएको हो । उक्त सम्झौताअनुसार दुवै पक्षले शत्रुता अन्त्य गर्ने, कैदी र बन्दीहरूको आदानप्रदान गर्ने, इजरायली सेना केही क्षेत्रबाट फिर्ता लिने तथा मानवीय सहायता र इन्धनको प्रवेश सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर यी प्रतिबद्धताहरूको बाबजुद दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । परिणामस्वरूप गाजामा हिंसात्मक झडप पुनः बढ्दै गएको र मानवीय संकट अझ गहिरिँदै गएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया