विपिन जोशीको शव आज दिउँसो साढे २ बजे विमानस्थल आइपुग्ने, महेन्द्रनगर लैजाने जिम्मा सेनालाई

लोकपथ
1.3k
Shares

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार काठमाडौँ ल्याइँदै छ । फ्लाई दुबईमार्फत दिउँसो साढे २ बजे उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

उनले विमानस्थलमै दिउँसो छोटो श्रद्धाञ्जली कार्यक्रम पनि तय भएको बताए । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने उनको भनाइ छ ।

विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ ।

विपिनको शव कञ्चनपुरस्थित उनकै घरमै पुर्‍याइदिनका लागि नेपाली सेनाले सहजीकरण गर्ने तय भएको पनि मन्त्रालयका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

‘दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छ भनिएको छ । शव परिवारको जिम्मा लगाएपछि सेनाले विपिनको घरसम्मै पुर्‍याइदिने तय भएको छ,’ उनले भने । 

गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आकस्मिक आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही आक्रमणपछि किब्बुज आलुमिमबाट हमासको कब्जामा परेका विपिन जोशीको पनि निधन भएको पुष्टि भएको थियो ।

उनी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

त्यसयता उनको स्थिति अज्ञात थियो । बन्धकहरू फिर्ता गर्ने अघिल्लो दिनमात्रै इजरायली सेनाले विपिन जीवित नरहेको भनेर नेपाली दूतावास र परिवारलाई जानकारी गराएको थियो।

गत मंगलबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । डिएनए परीक्षणमा शव उनकै रहेको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?